Motors
NiC Asia

गृहपृष्ठ त्यसपछि म नागरिक दैनिकबाट बाहिरिए…….

त्यसपछि म नागरिक दैनिकबाट बाहिरिए…….

२०७४ फागुन दोस्रो साता व्यक्तिगत काम विशेषले काठमाण्डौ गएको थिए । पारिवारिक भेटघाट र सूचना विभाग, प्रेस काउन्सिल, अनि त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको कामको सिलसिलामा काठमाण्डौ एक हप्ता बस्नु पर्ने भयो । जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने मलाई एक हप्ता विताउन निकै सकस पर्याे । काठमाण्डौ पुगेको पहिलो दिन नै सूचना विभागको प्रेस पास नविकरण र प्रेस काउन्सिलमा पत्रिका अभिलेख गराउने कार्य सम्पन्न भयो । तर परिक्षा नियन्त्रण कार्यालयको काम सम्पन्न हुन केही दिन लाग्ने भयो ।

दोस्रो दिन के गरेर विताउने भनेर विचार गरिरहेको वेला मेरो माईलो दाई डा हेमराज कोईरालाले नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञावली सगँ भेट गर्न जाने भए, जानु अनि भनेर मलाई सुझाउनु भयो । स्थानीय स्तरमा पत्रकारिता गरेर बसेको म नागरिक दैनिकका प्रबन्ध निर्देशक सँग चिनजान गर्दा राम्रै हुन्छ भन्ने लागेर दाईलाई विनोदराज सर सँग भेटघाट गर्ने समय मिलाईदिन आग्रह गरे ।

म पनि उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्ने एउटा फुच्चे पत्रकार नागरिक दैनिकको प्रबन्ध निर्देशकसँग भेट गर्ने अवसर पाउँदा खुसी नहुने कुरै भएन । दाईले विनोदराज सरसँग समय लिएर मलाई कल गरेर भन्नु भयो, ‘भाई, भोली बुधबार दिउसो २ः०० बजे विनोद सरसँग टाईम लिएको छु, गएर भेट गर्नु ।’

एउटा ब्रोडसिट पत्रिकाको प्रमुख सँग भेट गर्न जाने समय समेत तय भए पछि मेरो मन फुरुङ्ग नहुने कुरै भएन । फागुन १६ गते बुधबार विहान ठिमी स्थित घरमा खाना खाएर करिब ११ बजे म मोटरसाईकलमा नागरिकको कार्यालय तर्फ हान्निए । तर २ः०० बजे भेट गर्ने समय लिएकोले केही घण्टा समय बचत हुने भएपछि सिंहदरबार स्थित नेपाल टेलिभिजनको कार्यालयमा गाउँले दाई मनोहरी थापासँग भेटघाट गरिहालौं न भन्ने लागो ।

नेपाल टेलिभिजनमा पुगेर मनोहरी दाईसँग भेट गरे । नेपाल टेलिभिजनमा नै घडीको सुईले १ः३० काटी सकेको थियो । २ः०० बजे नागरिक दैनिकको कार्यालयमा पुगी सक्नु पर्ने भएकाले नागरिकको अपिस तिर हिडे । सिंहदरबारबाट सोझै सुन्धारा तफ अघि बढे । तर नागरिकको अपिसको लोकेसन थाहा नभएकाले अलमल परे । नागरिकको अपिस सुन्धारा क्षेत्रमा नै छ भन्ने थाहा थियो तर यही छ भन्ने कुरा थाहा थिएन ।

विनोदराज सरले दिनु भएको समयमा नपुग्ने हुँ, कि भन्ने त्रास मनमा पैदा भयो । सिभिल मल देखि दशरथ रंगशाला सम्म तिन चार चक्कर मोटरसाईकलमा लगाए तर पनि मैले नागरिक दैनिक पत्ता लगाउन सकिन । अन्त्यमा दाईलाई कल गरे, र भने ‘दाई मैले त, नागरिकको कार्यालय पत्ता लगाउन सकिन’ । अनि दाईले लोकेसन बताउदै भन्नु भयो ‘नागरिकको कार्यालय चाईना टाउन नजिक छ ।’

चाईना टाउन गेटमा पुगेर मोटरसाईकल रोके । दायाँ बाँया हेरे कहि छैन नागरिकको कार्यालय । बाटो हिड्ने बटुवालाई सोधे तर उनीहरुले समेत नागरिकको कार्यालय थाहा नभएको जवाफ दिए । फेरी पनि दाईलाई सोधौ भने दाईले ‘कस्तो केही थाहा नपाउने रहेछ’ भन्नु होला भन्ने डर । त्यसपछि गोजीबाट फोन निकालेर उदयपुरकै भाई रोयल आचार्यलाई कल गरे, उसले पनि ठ्याक्कै लोकेसन दिन सकेन । सुन्धारा वरीपरि गर्दा गर्दै मेरो घडीमा २ः०० बजि सकेको थियो ।

मेरो मनमा आपसे आप गुगल म्यापबाट कार्यालय पत्ता लगाउने कुरा आयो । टेलिभिजनमा गुगल म्यापको विज्ञापनले शहरमा लोकेसन थाहा पाउन मद्दत पुग्ने हेरेको थिए । गोजीबाट मोवाईल झिकेर हत्त न पत्त थ्री जी डाटा अन गरे र आफ्नो एन्ड्रोईड मोवाईलमा गुगल म्याप खोलेर रि पब्लिका मिडिया टाईप गरे । साच्चीकै गुगल म्यापले चाईना टाउन गेट भित्र नै नागरिक दैनिकको कार्यालय रहेको जानकारी पाए ।

चाईना टाउन बजार नजिक गए अगाडी हेरे, नागरिक दैनिक लेखेको ठुलो बोर्ड देखिहाले । मोटरसाईकल छेउमा पार्किङ्ग गरेर कार्यालय तर्फ अघि बढे । भवनको मुनी पुगेर सुरक्षा गार्डलाई सोधे ‘नागरिकको कार्यालय कहाँ हो ?’ उसले भन्यो ‘तेस्रो तलामा छ ।’ म सरासर तेस्रो तलामा पुगे । अनि फेरी अर्का सुरक्षा गार्डलाई सोधे ‘दाई, नागरिकको अपिस यही हो ।’ उहाँको जवाफ आयो ‘हो’ । अनि मैले फेरी प्रश्न गरे ‘विनोद सर सँग भेट गर्नु थियो, उहाँ कहाँ हुनुहुन्छ होला ?’

मेरो प्रश्नको सकिन नपाउदै गार्ड दाईले भन्नु भयो ‘उहाँको अपिस ग्राउण्ड फ्रोअर मै छ ।’ रेलिङ्गबाट तल तिर देखाउदै मलाई भन्नु भयो, ‘उ, त्यो रातो डोर म्याट ओछ्याएको छ, त्यही हो उहाँको अपिस ।’
म फेरी तल ओर्लिए । २ः०० बजेको समय लिएको मान्छे अपिस पत्ता लगाउदा लगाउदै घडीमा २ः३० बजि सकेको थियो । गार्ड दाईले देखाएको रुममा पुगे । रिसेप्सन रुममा एक जना महिला हुनुहुन्थ्यो । सायद उहाँ विनोद सरको सचिवालयको कर्मचारी हुनुहुदो हो ।

‘डा हेमराजले पठाउनु भएको, विनोद सर सँग भेट गर्न आएको’ रिसेप्सनमा मैले भने । रिसेप्सनबाट विनोद सरलाई कल गर्नु भयो, संयोग विनोद सर अपिसबाट बाहिर निस्कनै लाग्नु भएको रहेछ । मलाई विनोद सरले भित्र बोलाउनु भयो ।

म विनोद सरको रुममा प्रवेस गरे । ‘सर नमस्कार, म तुलसी कोईराला, डा. हेमराजको भाई’ आफ्नो परिचय दिए । दाईले नै भेटघाट गर्ने समय मिलाई दिएकाले मैले दाईको नाम लिएर परिचय गरे । उहाँले मलाई सोफामा बस्न इसारा गर्नुभयो । र प्रश्न गर्नु भयो ‘के काम गछौं ?’ मैले जवाफ दिए ‘सर, म पत्रकारिता गर्छु ।’ उहाँले फेर मलाई सोध्नु भयो ‘नागरिकमा काम गछौं’ । म आश्चर्य चकित परे ।

भेटघाट गर्न मात्र गएको मलाई नागरिकमा काम गर्ने अफर आयो, त्यही पनि पत्रिकाको फाउण्डरबाट । मैले तत्काल जवाफ दिए ‘गर्छु’ । ‘त्यसो भए भोली देखी यहीबाट रिपोटिङ्ग सुरु गर्नु’ बिनोद सरले भन्नु भयो । उहाँको प्रस्तावले मलाई समस्यामा पार्यो । जिल्लाबाट एकै चोटी काठमाण्डौ गएर पत्रकारिता गर्ने मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।

विनोद सरको प्रस्तावलाई क्रस गर्दै मैले भने ‘सर, मेरो पारिवारिक समस्या छ, जिल्लाबाट हो भने काम गर्छु तर काठमाण्डौ आएर काम गर्न सक्दिन ।’ मेरो जवाफ पछि विनोद सर समस्यामा पर्नु भएको आभास पाए । त्यसपछि उहाँले उदयपुरमा रिपोर्टर छन कि छैनन् भनेर सोध्नु भयो । ‘महेश्वर राई हुनुहुन्छ’ भनेर मैले जवाफ दिए । त्यसपछि विनोद सरले भन्नु भयो ‘जिल्लामा कुनै व्यापारिक केन्द्र छ की छैन ?’ मैले खुसी हुदै भने ‘कटारी भन्ने ठाउँ छ ।’ मेरो जवाफ सँगै विनोद सरले फोन डायल गर्नु भयो ।

‘हलो, गुणराज जी, मेरो साथीको भाई उदयपुरबाट आउनु भएको रहेछ, नागरिक दैनिकमा काम गर्ने गरि मिलाउनु ।’ गुणराज सरसँग फोन वार्ता सकियो । फोन राखी सकेपछि विनोद सरले मलाई भन्नुभयो ‘गुणराज लुईटेल हाम्रो सम्पादक हुनुहुन्छ, उहाँलाई भेट गर्नु ।’ मैले पनि ‘हुन्छ’ भने अनि विनोद सरको रुमबाट बाहिरिए ।

म फेरी नागरिक दैनिकको कार्यालय भएतर्फ उक्लिए । माथी आएपछि थाहा भयो गुणराज सर बाहिर हुनुुहुदो रहेछ । आधा घण्टा पछि कार्यालय आईपुग्ने जानकारी पाए । म गुणराज सरको पर्खाईमा थिए । मनमा अनेक कुराहरु खेली रहेका थिए । ख्याल ख्यालैमा नागरिक दैनिकमा काम गर्न पाईने भईयो भनेर मन फुरुङ्ग थियो ।

करिब एक घण्टाको पर्खाई पछि गुणराज सर आईपुग्ुनु भयो । मैले दुईहात जोडेर नमस्कार गरे अनि आफ्नो परिचय दिए । गुणराज सरले मलाई आफ्नो चेम्बरमा लग्नु भयो । उहाँ निकै हतारमा हुनुहुन्थ्यो । कुर्सीमा समेत नबसी मलाई सोध्नु भयो ‘उदयपुरमा हाम्रो रिपोर्टर छदै हुनुहुन्छ, कुनै उदयपुरमा कुनै ठुला शहर भए त्यहाबाट काम गर्नु ।’ मैले गुणराज सरलाई भने ‘सर, उदयपुरमा कटारी भन्ने बजार छ, म त्यहीबाट काम गर्छु नी त, मेरो पुख्यौली घर पनि त्यही हो ।’
उहाँले भन्नुभयो ‘त्यसो भए व्यक्तिगत विवरण(सिभि) ल्याएका छौ ?’ मैले जवाफ दिए, ‘छैन, मेलमा छ, म मेल गर्न सक्छु ।’

गुणराज सरले टेवलबाट आफ्नो भिजिटिङ्ग कार्ड झिकेर मलाई दिदै भन्नु भयो ‘यही मेलमा मलाई व्यक्तिगत विवरण (सिभी) पठाउनु ।’ उहाँले मलाई आफुले लेखेका ३ वटा समाचार र नियमित सम्पर्कमा रहनु समेत भन्नुभयो । मैलेपनि उहाँको निर्देशनलाई स्वीकार गरि नागरिक दैनिकबाट बाहिरिए । नागरिकबाट निस्किएपछि सरासर घर आए र गुणराज सरले दिनु भएको इमेल ठेगानामा आफ्नो सिभि मेल गरे । मेल गरिसके पछि गुणराज सरको मोवाईलमा सिभि मेल गरे भनेर म्यासेज पठाए र उहाँको ‘ओके’ भन्ने जवाफ प्राप्त भयो ।

एउटा ब्रोडसिटको पत्रिकामा काम गर्ने मेरो इच्छा पुरा हुने की नहुने अझै म दुविधा थिए । नागरिक दैनिकमा काम गर्न विनोदराज ज्ञावालीले भने पछि सायद मेरो इच्छा पुरा हुन्छ नै भन्नेमा म ढुक्क थिए । म काठमाण्डौ बसाईलाई विटमार्दै फागुन २० गते उदयपुर फर्किए । र नियमित रुपमा नागरिकमा समाचारहरु पठाई रहे ।

एक हप्ता पछि फागुन ३० गते तिर सम्पादक गुणराज सरलाई कल गरे । उहाँले भाईको काम हुदै छ, जिल्ला व्यूरो प्रमुख छत्र कार्की सँग सम्पर्क गर्नु भन्नु भयो र छत्र सरको नम्बर दिनु भयो । मेरो मनमा आशा पलायो । अनि छत्र सरसँग फोन सम्पर्क गरे । उहाँले जिल्लामा अर्काे पनि रिपोर्टर भएकाले समस्या हुने र मलाई बिशेष गरि सडक (राजमार्ग) को समाचार लेख्न सुझाउनु भयो । छत्र सरको सुझाव अनुसार मैले सडकको मात्र समाचार लेख्दा अन्य मेरै अगाडी कुनै घटना भयो भने त्यस्तो समाचार पठाउने की नपठाउने भनेर प्रतिप्रश्न गरे । छत्र सरले मज्जाले तपाईले समाचार पठाउन सक्नु भन्ने आदेश दिनु भयो ।

जिल्ला व्यूरो प्रमुखले यति कुरा गरी सकेपछि नागरिक दैनिकको कारिन्दा बन्ने भईयो भन्ने मनमा लागो । चैत्र लागि सकेको थियो । मैले नियमित रुपमा दैनि दुई तिनवटा समाचारहरु नागरिकमा पठाई नै रहे । चैतको तेस्रो हप्ता समेत कटिसकेपछि मैले फेरी सम्पादक गुणराज सरसँग सम्पर्क गरे ।

उहाँले तपाईको काम त भई सकेको छ भनेर जानकारी दिनु भयो । ‘भाईको काम त मैले गरिसेकेको छु, समाचार तथा अन्य कुराहरु छत्र सरसँग कुरा गर्नु’ गुणराज सरले मलाई सुझाव दिनु भयो । गुणराज सरसँग फोन सम्पर्क टुङ्गयाउने वित्तिकै छत्र सरलाई कल गरे । उहाँले भन्नु भयो ‘तपाईको नियुक्ती पत्र प्रशासनमा छ, नियुक्ती पत्र लिनु अनि पूर्वेलीका सम्पादक राजु अधिकारी सँग सम्पर्कमा रहेर काम गर्नु ।’

छत्र सरले प्रशासनको र राजु अधिकारीको सम्पर्क नम्बर दिनु भयो । मैले प्रशासनको सम्पर्क गरेर नियुक्ती पत्र पठाउन आग्रह गरे । चैत १ गते देखि लागु हुने गरि ६ महिनाको लागि भनेर स्ट्रिन्जर रिपोर्टरमा नियुक्ती पत्र प्राप्त भयो । अनि पूर्वलीका सम्पादक राजु सर सँग सम्पर्क गरे । चैत २६ गते काम विशेषले विराटनगर जानु पर्ने काम पर्याे ।

विराटगोल्ड कप प्रतियोगिताको फाइनल खेल हुने दिन थियो । नागरिक दैनिकको क्षेत्रिय कार्यालयमा पुगरे राजु सरसँग भेट गरे, नियुक्ती पत्र देखाए । राजु सरले महेश्वर दाई, सिराहा, सप्तरीको संवाददाता सँग सम्पर्क समन्वय गरेर काम गर्न भन्नु भयो र पूर्वेलीको आन्तरिक सर्कुलर मेल गरिदिनु भयो र सोही अनुसार काम गर्न सुझाव दिनु भयो ।

त्यसपछि सुरु भयो म माथीको राजनिति । उदयपुरका नागरिक रिपोर्टर महेश्वर राईले तुलसीलाई किन नियुक्ती दिएको भनेर डेक्समा थर्काउनु भएछ । उहाँले म भई भई अर्काेलाई किन कटारीबाट नियुक्ती दिईयो ? तुलसीलाई राख्ने भए मलाई हटाउनु भनेर कडा अडान राखेपछि जिल्ला व्यूरोले मैले पठाएको समाचार प्रकाशन गर्न सकेन ।

यसरी नै बैशाख महिना समेत वित्यो तर मैले समाचार पठाईरहे । मैले मेरो समाचार किन प्रकाशन भएन भनेर कयौ पटक गुणराज सरलाई फोन गरे तर उहाँले छत्र सरले यो सब मिलाउनु हुन्छ भनेर जवाफ दिनु भयो भने छत्र सरलाई सम्पर्क गर्दा हामी छलफ गर्दै छौ, केही दिनमा मिल्छ भन्ने मात्र जवाफ आयो । यता पूर्वेली सम्पादक राजु अधिकारीसँग सम्पर्क गर्दा जिल्ला व्यूरोले आफुले केही गर्न नसक्ने जवाफ पाए ।

‘सबै समाचार जिल्ला व्यूरोबाट नै छाप्नु भनेर आदेश आउने हो, भाईको समाचार हाल्नु भनेर आएको छैन’ राजुले भने । चैत १ देखि जेठ १५ गते सम्म मैले नागरिकमा ७५ वटा समाचार पठाएको रहेछु । बारम्बार सम्पादकलाई मेरो समाचार किन प्रकाशन भएन भनेर ताकेता गरिरहे । सम्पादकहरुले झारा टार्ने जवाफ दिई नै रहे । जेठ अन्तिममा काम विशेषले काठमाण्डौ जानु पर्ने अवस्था आयो ।

जिल्लाको मान्छे काठमाण्डौ कहिले ६ महिना कहिले बर्ष दिनमा काम विशेषले मात्र पुग्नु पर्ने । नागरिक दैनिकमा पुगेर मेरो समस्या समाधान गर्ने उद्देश्यले काठमाण्डौ पुगे । अनि सम्पादकलाई सम्पर्क गरे सम्पादकले फोन उठाउनु नै भएन । मैले आफु काठमाण्डौ आएको र भेट गर्ने इच्छा भएको म्यासेज पठाए । तर म्यासेज डेलिभरी हुन्छ, रिप्ले आउदैन । असार ३ गते आईतबार विहान १०ः०० बजे नागरिकको कार्यालय सुन्धारा पुगे ।

गुणराज सर र छत्र सरलाई कल गरे । मेरो कल रिसिभ नै भएन । नागरिक दैनिकको कार्यालयको गेटमा बसेर सम्पादक आउने बाटो कुरि रहे । गुणराज सर सँग भेट भएको तर छत्र सर सँग भेट नभएकाले पहिलो भेट थियो छत्र सर सँग । साढे १० बजे तिर एक जना विदेशी सँग गफ गर्दै छत्र सर जस्तो व्यक्ति आउनु भयो । मैले फेसबुकमा देखेको अनुहार सँग मिल्दोजुल्दो थियो । ‘छत्र सर नमस्कार’ मैले भने, संयोग उहाँ छत्र सर नै हुनुहुदो रहेछ ।

उहाँले मलाई आफ्नो चेम्बरमा लग्नु भयो र भन्नु भयो ‘भाईले धेरै कल गर्नु भएको रहेछ मैले रिसिभ गर्न सकिन, सरी है ।’ उहाँले बैठक रुममा मलाई लिएर जानु भयो र हामी विच कुरा सुरु भयो । मैले समाचार किन नछापिएको भनेर जवाफ मागे उहाँले ‘जिल्लाका साथीहरु विच समस्या आएकाले समाचार प्रकाशन गर्न नसकेकोमा आफु लाचर रहेको प्रष्टिकरण दिनु भयो ।

र सम्पादक गुणराज सर आउनु भएपछि आफ्ना कुरा राख्नु भन्नु भयो । एकछिन पछि गुणराज सर पनि कार्यालय आईपुग्नु भयो । मैले गुणराज सरलाई अभिवादन गरे । उहाँलाई पनि आफ्ना समस्या दर्शाए । उहाँबाट जिल्लामा समस्या भयो भन्ने रेडिमेड जवाफ आयो र छत्र सर सँग नै छलफल गरेर निष्कर्ष निकाल्नु भन्ने जवाफ पाए ।

सम्पादक र जिल्ला व्यूरो प्रमुखले एकले अर्कालाई देखाएर समस्याबाट उम्कन खोजेको प्रष्ट सँग महशुस गरे । दुई रिपोर्टर विच भएको सामान्य असमझदारी समेत समाधान गर्न नसक्ने सम्पादकसँग काम गर्ने अवसर मिलेकोमा मेरो जीवनको नयाँ भोगाई थियो । एउटा अक्षम सम्पादकको कारण मैले करिब ३ महिना अनावश्यक श्रम खर्चिनु पर्याे । उहाँहरुको निर्णय क्षमता देखेर म आश्चर्य चकित भए ।

कसरी नागरिक पत्रिका संचालन भएको छ भनेर । अन्तिममा उहाँबाट केही निष्कर्ष नआएपछि मैले विनोदराज सरलाई भेट गरेर मात्र नागरिकबाट बाहिरिने सोच बनाए । र विनोद सरको चेम्बरमा पुगे । आफ्ना समस्या राखे अनि डेक्सको चाहना अनुसार म काम गर्न नसक्ने जानकारी गराए । त्यस पछि म नागरिकबाट बाहिरिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु