गृहपृष्ठ मन्त्री पुन र इजरायली राजदूतबीच भेटवार्ता

मन्त्री पुन र इजरायली राजदूतबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानी गर्न इजरायल सरकारसँग आग्रह गरेका छन् । सोमार नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरसँगको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
मुलुकमा स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनको सचिवालयले जनाएको छ । ‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु’ उर्जामन्त्री पुनको भनाई उद्धृत गर्दै सचिवालयका एक अधिकारीले भने । उनँले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे ।
लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राखे । भेटमा इजरायली राजदूत ओमेरले ऊर्जा र सिँचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताउनुभयो । उनले ऊर्जामा लगानीको लागि इजरायलले साझेदार खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु