Motors
NiC Asia

गृहपृष्ठ गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्न मै अवरोध सिर्जना गर्ने खतरा बढेको छ । इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो ।
इजरायली सैनिक स्रोतले हमासको टेलिभिजन भवनबाट इजरायलभित्र क्षेप्यास्त्र प्रहार भएको र त्यसबाट मंगलबार एक जनाको मृत्यु भएको जनाएको छ । इजरायली विशेष फौजले आइतबार गाजा क्षेत्रमा गरेको गोप्य कारबाही गरेसँगै हमासले पनि त्यसको बदला लिने जनाएको छ ।
इजरायली सैनिकले सामबार अपराह्नदेखि मंगलबार बिहानसम्मको अवधिमा एक सय भन्दाबढी विद्रोही इलाकामा आक्रमण गरेको जनाएको छ । हमासले आफ्नो नियन्त्रण भएका क्षेत्रबाट इजरायली भूमितर्फ तीन सय ७० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।
गाजा क्षेत्रबाट प्रहार गरिएका एक सय भन्दाबढी क्षेप्यास्त्रलाई इजरायली प्रतिरक्षा प्रणालीले थाहा पाएको र तीमध्ये अधिकांश खुला ठाउँमा खसेका थिए । इजरायली सेनाका अनुसार केही क्षेप्यास्त्र घर र अन्य संरचनामा खसेका छन् ।
दक्षिणी इजरायलको आस्केलोन सहरको एक घरको भग्नावशेषमा फेला परेका एक व्यक्तिको शव निकालिएको आपतकालीन सेवा प्रदायक संस्था युनाइटेड हतजलाहले जनाएको छ । सोही भवनबाट उद्धार गरिएकी एक महिलाको अवस्था अत्यन्त नाजूक रहेको र उनको उपचार भइरहेको छ । प्रहरीले मारिएका ती व्यक्ति प्यालेस्टिनी रहेको जनाएको छ । एकजना प्रहरी प्रवक्ताले आस्केलोनको घरमा ती व्यक्ति कसरी आए भन्ने अनुसन्धान भइरहेको बताएका छन् ।
स्वास्थ्यकर्मीले हमासको आक्रमणका कारण करिब २० जना इजरायली नागरिक घाइते भएको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट तीन जना प्यालेस्टिनीको मृत्यु भएको र अरु नौ जना घाइते भएको जनाएको छ ।
प्यालेस्टिनी मुक्तिमोर्चा नामको विद्रोही समूहले इजरायली आक्रमणबाट मारिने दुईजना प्यालेस्टिनी आफ्ना सदस्य रहेको जनाएको छ । तेस्रो व्यक्ति भने इस्लामिक जिहादको सैनिक रहेको बताइएको छ । इजरायली आक्रमणबाट घाइते भएका अर्का प्यालेस्टिनीको उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महिनौंदेखि गाजा–इजरायल सीमा क्षेत्रमा व्याप्त हिंसात्मक अशान्ति बिस्तारै मत्थर हुनेक्रममा रहेपनि एकाएक हिंसा भड्किएको छ । हालैका सातामा गाजा क्षेत्रमा कार्यरत कर्मचारीको तलब भुक्तानीका लागि कतारलाई लाखौँ डलर उपलब्ध गराउन तथा विद्युत संकट समाधान गर्न इन्धन उपलब्ध गराउन इजरायलले सहमति दिएको थियो ।
पछिल्लो हिंसा भड्किनुअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चौतर्फी आलोचनाबीच प्यालेस्टाइनका लागि रकम उपलब्ध गराउन कतारलाई अनुमति दिएका थिए । उनले सम्भावित युद्ध टार्न पनि यस्तो सहमति दिएको बताइन्छ ।
इजरायल र प्यालेस्टिनी विद्रोहीबीच गाजा क्षेत्रमा सन् २००८ यता तीन पटक युद्ध भइसकेको छ । पछिल्ला हिंसात्मक घटनाक्रमले चौथो युद्ध निम्त्याउन सक्ने अनुमान गरिएको थियो । युद्धको निर्णय लिने सर्वोच्च निकाय इजरायली सुरक्षा परिषद्को बैठक मंगलबार बिहानका लागि डाकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेतान्याहूले पेरिस भ्रमणलाई छोट्याएर स्वदेश फर्केका छन् । उनले सोमबार नै सुरक्षा प्रमुखसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् । राष्ट्रसंघका मध्यपूर्व कुटनीतिज्ञ निकोलाए म्लाडेनोभले पछिल्ला हिंसात्मक कारबाही निकै खतरनाक रहेको बताएका छन् । उनले सबै पक्षलाई धैर्य कायम राख्न आग्रह गरेका छन् ।
इजरायलले आइतबारको गोप्य कारबाही सूचना–संग्रह अभियान मात्र रहेको, र यो कुनै व्यक्तिको हत्या वा अपहरणमा केन्द्रित नरहेको स्पष्ट गरेको छ, तर हमासले इजरायली दाबीको खण्डन गर्दै बदला लिने जनाएको छ ।
इजरायली सैनिकले आइतबारको अभियान पूर्वयोजना बमोजिम अघि बढ्न नसकेको र भिडन्त भएको बताएको छ । प्यालेस्टिनी अधिकारीले इजरायली गोप्य अभियानकै क्रममा इजरायली हवाई आक्रमण भएकाले आशंका उत्पन्न भएको जनाएको छ ।
हमासले इजरायली विशेष फौजको टोली दक्षिणी गाजा क्षेत्रको खान युनिसभित्र कार लिएर आएको बताएको छ । तर यहीबीच गोली हानाहान हुँदा स्थानीय अल–क्वास्सामका कमान्डर नुर बाराका सहित अर्का विद्रोही मारिएका थिए ।
त्यसपछि उक्त कार लिएर भाग्न लागेका इजरायली सेनाको सुरक्षाका लागि हवाई आक्रमण गरिएको हमासको भनाइ छ । इजरायली आक्रमणमा मारिएका सातै जना प्यालेस्टिनी विद्रोहीको सोमबार हजारौँ प्यालेस्टिनीको उपस्थितिमा दाहसंस्कार गरिएको छ । त्यसक्रममा बन्दुकसहित उपस्थित अल–क्वास्सामका सदस्यले हावामा गोली चलाएका थिए ।
गाजा–इजरायली सीमामा गत मार्च २० देखि नै हिंसात्मक झडप भइरहेका छन् । इजरायली सेनाको कारबाहीमा यस अवधिमा कम्तीमा दुई सय ३१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यस घटनामा हालसम्म दुई जना इजरायली सैनिकको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु