Motors
NiC Asia

गृहपृष्ठ शतप्रतिशतले रोजगारी पाउँछन्

शतप्रतिशतले रोजगारी पाउँछन्

दुर्गादत्त ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)का कार्यकारी निर्देशक हुनुहुन्छ । मास्टर इन इकोनोमिक्स, जनप्रशासनबाट स्नातकोत्तर र कानूनमा पनि स्नातक उत्तीर्ण गर्नुभएका ढकालले ३० वर्षे निजामति सेवाको अनुभव सँगालिसक्नुभएको छ । ढकाल गृहमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, पर्यटन मन्त्रालय, विभाग हुँदै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)मा झण्डै एक वर्षदेखि कार्यरत हुनुहुन्छ । निजामति सेवाको क्षेत्रका विविध विषय, पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रका सन्दर्भमा केन्द्रित रहेर ढकालसँग  टंक कार्कीले गरेको कुराकानी ।

० कति सालमा करियर शुरु गर्नुभएको हो ?

मैले २०४५ सालमा नायब सुब्बाको पदबाट आफ्नो करियर शुरु गरेको हो । शुरुमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा काम गरें । तीन वर्ष त्यहाँ काम गरिसकेपछि गृहमन्त्रालयमा सरुवा भएँ । २०५० सालमा खुला प्रतिस्पर्धाबाट फेरि शाखा अधिकृतमा पास गरें । त्यसपछि फेरि मेरो शुरु पदस्थापना गृह मन्त्रालयमा भयो ।

० तपाईंले पञ्चायतीकालको पनि अनुभव लिनुभएको रहेछ, पञ्चायतीकाल र २०४६ सालको जनआन्दोलनपश्चात प्रजातन्त्र पुनस्र्थापनापछि काम गर्दा निजामति सेवामा कत्तिको फरक पाउनुभयो ?

शुरुमा पञ्चायतीकालमा निर्देशित सिद्धान्तबमोजिम नै काम गरिन्थ्यो । निर्देश जे हुन्छ त्यो गरेपछि काम पूरा भएको मानिन्थ्यो । आज्ञाकारिता भन्ने नै बढी फोकस थियो भने पछाडि प्रजातन्त्र पुनस्र्थापित भइसकेपछि सिर्जनशिलता, अग्रसरता त्यसको पनि मूल्यांकन हुन थालेको महसुस गरें । पछिल्लो समयमा अन्य कुराभन्दा पनि ऐन, नियमको परिधिभित्र रहेर सिर्जनशीलता र उत्पे्ररित भएर काम गर्ने कर्मचारीहरूको संख्या बढ्दै गएको मैले पाएको छु ।

० निजामति प्रशासनलाई ’सरकारी काम कहिले जाला घाम’ भन्ने दृष्टिकोणबाट धेरै कर्मचारीले लिने गरेको आरोप सेवाग्राहीहरूबाट लाग्ने गरेको छ, त्यस्तै तालिम, पुनर्ताजगीका काम, म जनताको सेवक हुँ भन्ने भावनाको कमी नेपालको निजामति प्रशासनमा छ भनिन्छ नि ?

कर्मचारीहरूको नकारात्मक सोचको कारण, मोलाहिजोको कारणले गर्दाखेरी निजामति सेवाले जुन जश पाउनुपर्ने थियो, जुन कामको सिलसिलामा, उनीहरूले गरेको कामको सन्दर्भमा जनताबाट स्वाबासी पाउनुपर्ने थियो, त्यो पाउन नसकिरहेको अवस्था मैले देखिरहेको छु । तर समग्ररुपमा सबै कर्मचारी कामचोर होइनन् । सरकारको काम कहिले जाला घाम भन्ने मानसिकता पाल्ने कर्मचारी कम र राम्रो काम गर्ने कर्मचारीहरू बढी छन् । तर कतिपय अवस्थामा अवसरवादी कर्मचारीहरूले नै यसबाट फाइदा लिएको अवस्था पनि नभएको होइन । अपवादलाई छाडेर हेर्ने हो भने राम्रा कर्मचारीहरूले नै मौका पाएका छन् ।

० मुलुक अहिले संघीयतामा गइसकेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ, कर्मचारीहरूले नयाँ संरचनाअनुसार हिजोको दिनमा भन्दा भिन्न ढंगले, तीव्रगतिमा काम गर्नुपर्ने अवस्था आएको होइन र अब ?

एकदम सही कुरा हो । किनभनेदेखि संघीयता भनेको गाउँ–ठाउँमै पुगेर सेवा दिनु हो । जनताले केन्द्रबाट सेवा तुरुन्त पाउन सकेनन् । गाउँ–ठाउँमै गएर सेवा दिनुस् तपाईंहरूले, त्यसकारण राज्यको विकेन्द्रिकरणले मात्रै काम गरेन, त्यसैले राज्यको संरचना नै परिवर्तन गरेर संघीयतामा लग्नुपर्छ भन्ने महसुस भएर नै यो संघीयता आएको हो । र, पनि अहिले अवस्था के छ भने कानूनहरू अहिले आवश्यकताअनुसार बनिसकेका छैनन् । अर्कोतिर खटिएर गइराखेका कर्मचारीहरूले पनि काम नपाएको अवस्था छ किनभने त्यहाँ कानूनहरू बनिसकेका छैनन् । तेस्रो कुरा के छ भन्दाखेरि कोही ठाउँमा काम बढी छ कर्मचारी कम छन्, कोही ठाउँमा काम कम छ, कर्मचारी बढी छन् । यसलाई हेरेर काम गर्नुपर्ने देखिएको छ । खास गरेर प्रदेशको समन्वय गर्ने काम हो । स्थानीय निकायहरूले घरदैलोमै पुगेर सेवा दिने काम गर्नुपर्छ । घरदैलोमा जनताले पाउने गुणस्तरीय सेवा खोजेको समयमा प्राप्त गरुन् भनेरै यो संघीयता ल्याएका हुन् । त्यसकारणले सरकारले त्यसरी खटाउँदाखेरी कर्मचारीहरूलाई उत्पे्ररित गरेर, उनीहरूलाई प्रोत्साहित गरेर खटाउँदाखेरि उनीहरूबाट बढी सेवा पनि प्राप्त हुन्छ र जनताले पनि त्यो अनुसारको सेवा पाउन सक्छन् भन्ने मलाई लाग्छ ।

० प्रसंग बदलौं, तपाईंले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथाम)मा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुग्दैगर्दा हिजोका दिनमा चलेको नाथाम र आजको नाथाममा के भिन्नता पाउनुभएको छ र कस्तो अनुभव गरिरहनुभएको छ ?

अहिले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान भनेको एउटामात्रै संस्था हो, जसले शैक्षिक कार्यक्रमहरू र तालिमहरू सँगसँगै सञ्चालन गर्छ । कतिपयले शैक्षिक कार्यक्रममात्र सञ्चालन गर्छन् तालिम चलाउँदैनन् । कतिपयले तालिममात्र सञ्चालन गर्छन् शैक्षिक कार्यक्रम चलाउँदैनन्, तर हाम्रो यहाँनेर दुवै कार्यक्रम समानान्तररुपमा अगाडि बढाइरहेका छौं । त्यसले गर्दाखेरी हाम्रो मान्यता त्तगबष्तिथ धयचपायचअभ ायच त्रगबष्तिथ कभचखष्अभ अर्थात् गुणस्तरीय उत्पादन गर्छौं र सेवा पनि गुणस्तरीय नै दिन्छौं भन्ने हाम्रो मान्यता हो र त्यो मान्यतामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान अडिग छ । त्यसलाई पूरा गर्नको लागि म पनि लागिराखेको छु र मेरो सम्पूर्ण टिमका साथीहरू लागिराख्नुभएको छ । अहिलेसम्मको प्रगति हेर्दाखेरी सन्तुष्ट छु । किनभने यहाँबाट विभिन्न गाउँ–ठाउँमा पुग्दाखेरि पनि यहाँ तालिम लिएर गएका व्यक्तिहरूले सेवा दिइरहेको अवस्था छ । शैक्षिक भर्नाको सन्दर्भमा पनि हामीले विज्ञापन गर्नुपर्दैन । हामीकहाँ भर्ना खुल्नासाथ धेरै संख्यामा दरखास्त पर्छ । यसबाट हामीले सबैलाई भर्ना लिनसक्ने अवस्था छैन । नाथाम मानित विश्वविद्यालय भइसकेको अवस्थामा अब बढी संख्यामा भर्ना लिएर सातवटै प्रदेशमा जाने सोचमा छौं किन भन्दाखेरि हामीले पनि संघीय संरचनालाई नै आत्मसात गरेर अगाडि बढ्नुपर्ने हुन्छ । अब सातवटै प्रदेशमा तालिम सञ्चालन गर्ने र शैक्षिक कार्यक्रम सञ्चालन गर्न नाथामका शाखाहरू स्थापना गर्ने हाम्रो सोच छ । ती शाखाहरू स्थापना भइसकेपछि धेरै दूरदराजबाट काठमाडौं आइराख्नु पर्दैन । तर हामीले गुणस्तरीयतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मान्यता छ । गुणस्तरीय तालिम, गुणस्तरीय शैक्षिक कार्यक्रम जसरी अहिले हामीले केन्द्रमा दिइराखेका छौं, क्षेत्र वा प्रदेशमा जाँदा पनि हामीले त्यो गुणस्तरलाई कायम गर्छौं । अहिले हामीले पछिल्लो चरणमा लोकसेवा आयोगबाट नै गुणस्तरीय जनशक्ति भर्ना गर्ने गरेका छौं, त्यसले गर्दाखेरि हाम्रो मकसद पूरा हुन्छ भन्ने अपेक्षा पनि छ, हाम्रो त्यो योजना पनि छ । अब हामीले निकट भविष्यमै भोलि यो स्थापना भइसकेपछि सातवटा प्रदेशमा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा हामीले त्यहाँ हाम्रा शाखा विस्तार गर्छौं । त्यो शाखाहरूबाट नै तालिम दिन्छौं । त्यो भइसकेपछि नेपालमा हुने टुरिजम बिजनेसमा लाग्नेहरूको लागि, नेपालमा आउने टुरिष्टहरूको लागि त्यसले ठूलै महत्व राख्छ भन्ने लाग्छ ।

० शैक्षिक कार्यक्रमबाहेक कुन कुन विधाका तालिमहरू दिनुहुन्छ ?

मूलतः दुईवटा विधामा तालिम प्रदान गर्दै आएका छौं । एउटा ट्राभल एण्ड टुरिजम र अर्को होटल म्यानेजमेन्ट, अहिले दुईखालको छ । भोलि मानित विश्वविद्यालय भइसकेपछि पर्वतारोहणसम्बन्धी प्रशिक्षण पनि यहाँ गर्ने हो कि भन्ने नेपाल सरकारको सोचाई पनि छ, हाम्रो पनि यही हो । त्यो भयो भने एउटा नयाँ थपिन्छ । अहिले हामीले ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट क्षेत्रमा गरिराखेका छौं ।

० नाथाममा आफ्ना विद्यार्थीहरूलाई भर्ना गरिदिनुप¥यो भनेर मन्त्रीदेखि विभिन्न उच्च ओहदाकाहरूले कार्यकारी निर्देशकलाई फोर्स लगाउने गरेको हामीले देखे–सुनेकै हौं विगतका वर्षहरूमा, यसवर्ष चाहिं त्यस्तो फोर्सको सामना कत्तिको गर्नुभयो तपाईंले ?

हाम्रो नेपालमा भनसुन गर्ने प्रचलन छ नै त्यसलाई ‘टोटल्ली’रुपमा ‘नेग्लेक्ट’ गर्न मिल्दैन । तर पनि हाम्रो यहाँको भर्ना पद्धति भनसुन भन्दा पनि निश्चित आधारहरू छन् । जस्तो सिम्याटमा कति नम्बर ल्यायो, त्यो सिम्याटको ५० प्रतिशत, +२ मा कति मार्क ल्याएको छ, त्यसको ३० प्रतिशत जोडिने, गु्रप डिस्कशनमा कति ल्याएको छ, त्यसको १० प्रतिशत जोडिने अनि इन्टरभ्यूको १० प्रतिशत जोडिने गरेर १०० प्रतिशत पु¥याएर उनीहरूको मूल्यांकन हुन्छ । साह्रै कमजोर विद्यार्थीहरू अहिलेको अवस्थामा यहाँ भर्ना हुनसक्ने अवस्था छैन । माथिबाट भनसुन भएतापनि हामीले आफ्नो क्राइटएरिया नाघेर भर्ना गर्नसक्ने अवस्था छैन ।

० नाथामबाट उत्पादित विद्यार्थीहरूको हालसम्मको स्थिति के छ, देशभित्र र देशबाहिर उनीहरूको रोजगारीको स्थिति कस्तो छ ?

यसलाई हस्पिटालिटी बिजनेश भनौं– ट्राभल एण्ड टेुरिजम र होटेल म्यानेजमेन्ट । दुईवटा कम्बाइन गर्दाखेरी हस्पिटालिटी बिजनेश भएको हो । सबैभन्दा खुशीको कुरा के छ भने नाथामबाट उत्पादित विद्यार्थीहरू शतप्रतिशतले रोजगारी पाउँछन् । अहिलेको स्थिति पनि त्यही हो । यहाँ पढेका विद्यार्थीहरूले देश तथा विदेशको जुनसुकै ठाउँमा गए पनि बेरोजगारी बस्नु पर्दैन । यो हस्पिटालिटी बिजनेश भनेको यस्तो हुन्छ कि विदेशीहरूलाई पनि राम्रो मान्छे चाहिने, अनि नेपालीहरूलाई पनि चाहिने भएको हुनाले उनीहरूलाई रोजगारीको अवसर देशभित्र पनि उत्तिकै छ र देशबाहिर पनि छ । यहाँबाट उत्पादित जनशक्ति देशभित्र स्वरोजगारमा पनि छन्, अरुको रोजगारमा पनि छन् । विदेशमा पनि छन् । आजसम्म १०/१२ हजारभन्दा बढी विद्यार्थी उत्पादित भइसकेका भए पनि यहाँ पढेको एकजना पनि विद्यार्थीले मैले काम पाएको छैन भनेर भनेको अवस्था छैन ।

० तपाईंहरू सातै प्रदेशमा जाने तयारीमा हुनुहुन्छ । यही गुणस्तरलाई कायम राख्दैगर्दा कम खर्चमा मानिसले पढ्नसक्ने अवस्था नहोला । त्यतिबेला तपाईंहरूले मध्यम तथा निम्नवर्गीय परिवारका विद्यार्थीहरूलाई पनि पढाउनुपर्ने हुन्छ, महँगो शुल्क तिर्ने हैसियत हुँदैन, त्यसका लागि के सोच्नुभएको छ ?

शुल्कको हिसाबले भन्नुहुन्छ भने अहिलेकै शुल्क पनि निजी क्षेत्रको भन्दा शुपथ नै छ, कमै छ । यहाँले भन्नुभएको कुरा वास्तवमा जायज छ । मध्यम तथा निम्न वर्गका केही शुल्क तिर्न नसक्नेहरूलाई पनि के गर्ने भन्दाखेरी सरकारी स्कूलहरूमा पढेका, सामुदायिक क्याम्पसहरूमा पढेकाहरूलाई हाम्रो नीतिअनुसार अहिले पनि छात्रावृत्तिको व्यवस्था छ । त्यो पाउनुहुन्छ उहाँहरूले । बाहिर हामीले पढाउने पनि यहींकै कोर्ष, यहींकै पाठ्यक्रम, यहींकै सिस्टम, यहींको प्रक्रिया र यस्तै पूर्वाधार तयार गरेर हामीले अगाडि बढ्नुपर्छ । त्यहाँका स्थानीयहरू जस्तो कर्णाली प्रदेशकै कुरा गरौं, उहाँहरूले लगानी गरेर अध्ययन गर्न सक्नुभएन भने नेपाल सरकारको नीतिअनुसार नेपाल सरकारले केही व्यहोर्नुपर्ने हुनसक्छ, त्यसमा प्रदेश सरकारले निर्णय गर्छ । सरकारबाट हामीले धान्नसक्ने खालको अनुदान प्रदान गर्नुप¥यो । एक किसिमको पोलिसी बनाएर अगाडि बढ्नुप¥यो । सातै प्रदेशमा नजाने हो भने कोही ठाउँमा बढी जनशक्ति उत्पादन हुन्छ, कोही ठाउँमा हुँदैन । संघीयताको मर्म त्यो होइन । सबै क्षेत्रका जनताहरू, मान्छेहरू सक्षम हुन्, उनीहरूले पनि व्यवसाय गर्न सकून्, अरुको व्यवसायमा गएर पनि काम गर्न योग्य होऊन् भन्ने नै हो । प्रदेश सरकारले पनि केही निर्णय गर्ला नै । अहिलेको अवस्थामा हामीले सामुदायिक विद्यालय, सामुदायिक कलेजहरूमा पढेका विद्यार्थीहरूलाई नै प्राथमिकता दिने हो, छात्रावृत्ति दिने हो ।

० नेपालमा बढीजसो व्यवहारिकभन्दा सैद्धान्तिक शिक्षा बढी प्रदान गर्ने गरिएको छ, जसको कारणले शैक्षिक बेरोजगारहरूको संख्या बढिरहेको छ, तर नाथाममा अध्ययन गर्ने विद्यार्थीहरूले चाहिं त्यस्तो बेरोजगारको पीडा भोग्नुपर्ने अवस्था देखिएन । भनेपछि अब नेपालको शिक्षा प्रणालीमा नीतिगत सुधार गरेरै व्यवसायिक, व्यवहारिक तथा प्राविधिक शिक्षातर्फ अगाडि बढ्नुपर्ने स्थिति आएको होइन र ?

कुरा एकदमै सही हो । नेपालमा आमरुपमा सैद्धान्तिक शिक्षा दिइन्छ, उनीहरू व्यवसायिक वा व्यवहारिक हुनै सक्दैनन् । जसको कारणले शैक्षिक बेरोजगारीको दर एकदमै धेरै छ । तर हामीकहाँ त्यो छँदैछैन । यो पूर्णरुपमा व्यवहारिक तथा व्यवसायिक शिक्षा नै हो । यो शिक्षा हासिल गरिसकेपछि देशभित्र र बाहिरतिर रोजगारी पाउन सहज हुनुको कारण नै त्यही हो । यो शिक्षा नै व्यवहारिक भएको हुनाले पाएको हो ।

० अब यस्तो कलेजको संख्या बढाउनुपर्ने हो कि ?

निश्चितरुपमा अब हामी मानित विश्वविद्यालय भइसकेपछि सातै प्रदेशमा गएर यस्ता कलेजका शाखाहरू खोल्छौं । यसबाट अवश्य पनि व्यवसायिक तथा व्यवहारिक शिक्षा लिनेको संख्या त बढ्छ नै । हामी विश्वविद्यालय बनिसकेपछि अब कोटा निर्धारण गर्न अरुको आदेश लिनुपर्ने, स्वीकृति पर्खिराख्नुपर्ने स्थिति हुँदैन । जस्तो पूर्वतर्फ एक नम्बर प्रदेशमा हजार जना विद्यार्थी उत्पादन हुनसक्छन् भने सुर्खेतमा ५ सय विद्यार्थी हुन सक्छन् । त्यो भौगोलिक यथार्थता हो । तर त्यहाँको आवश्यकतालाई थेग्ने, त्यहाँको मागबमोजिम नै हामीले कक्षाहरू सञ्चालन गर्ने हो । तालिम र कक्षा समानान्तररुपमा हामी अगाडि बढाउँछौं ।

० अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हस्पिटालिटी बिजनेशमा एउटा मन्त्र छ– दभ नययम ायच थयगचकभाि अर्थात् आफ्नै लागि असल बन भन्ने । हामीले त्यसैलाई उत्पे्ररितरुपमा अगाडि बढाएर लैजान्छौं । र टुरिजम इण्डष्ट्रिमा संलग्न जो कोहीलाई पनि सम्भावनाको उच्च विन्दूमा रहेको पर्यटन क्षेत्रलाई निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारी क्षेत्रले हातेमालो गरेर अगाडि बढाउनुको विकल्प छैन । यसमा सबै जनाले आ–आफ्नो क्षेत्रमा योगदान गर्दै अगाडि बढेको खण्डमा नेपाल समृद्ध बन्छ, नेपालीहरू सुखी बन्छन्, यसको एउटामात्रै अथवा महत्वपूर्ण आधार भनेको पर्यटन हो भन्ने मलाई लाग्छ ।
साभार : क्रसचेक मासिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु