Motors
NiC Asia

गृहपृष्ठ बिप्रेषण संगै बिकास पनि

बिप्रेषण संगै बिकास पनि

म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् ।
जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।

भकिम्लीबाट विदेशमा गएका युवाहरूको पहलमा भकिम्ली गाउँमा करीब तीन करोडको लागतमा सुविधा सम्पन्न भव्य विद्यालय भवन निर्माण भएको छ । म्याग्दीकै नमूना विद्यालय भवन मानिएको भूकम्प प्रतिरोधी सो भवन निर्माणका लागि प्रवासी भकिम्लेलीहरूले दुई करोड ५० लाखभन्दा बढी सहयोग गरेका छन् भने साविकको जिल्ला शिक्षा कार्यालय र नगरपालिकाले न्यून रकम लगानी गरेको छ ।

यसैगरी सोही वडाको राखुमा प्रवासीहरूको ३५ लाखभन्दा बढी लगानीमा कृषि सडक निर्माण भएको छ । यसका साथै सामुदायिक भवन र खेलमैदान निर्माणमा पनि प्रवासी भकिम्लीहरूले लगानी गरेका र उनीहरूको सहयोगबाट नै गाउँमा विकासको लहर छाएको बेनपा–३ का वडाअध्यक्ष पदम पुनले बताए । त्यसैगरी रघुगङ्गा गाउँपालिका–१ बेगमा पनि प्रवासी स्थानीयवासीको पहलमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

देश र विदेशका विभिन्न शहरमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडाँै, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराइन, सिङ्गापुरलगायत स्थानमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध भएका छन् । समाजको पहलमा एक करोड २५ लाख जुटाएर २०७० मा छ किलोमिटर दुरीको बेगखोला–देउराली नमूना हरित सडक र पाँच किलोमिटर दुरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा भिक्टोरिया क्रस प्राप्त स्व ऋषि पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विस २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्ड्स टुगेदर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो ।

बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको– ५ किन्दुका बासिन्दाले ५० लाख जुटाएर साढे छ किलोमिटर सडक निर्माण गरेका छन् । भौगोलिकरूपमा विकट र अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित किन्दुमा यातायात सेवाको पहुँच पु¥याउन प्रवासी किन्दुवासीहरूको सहयोगमा सडक निर्माण भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

विदेशी भूमिमा रातदिन मेहनत गरेर कमाएको पैसाबाट प्रवासी म्याग्देलीले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामात्र राम्रो बनाएका छैनन्, उनीहरूकै पौरखका कारण म्याग्दीका कतिपय गाउँहरूको कायापलट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु