Motors
NiC Asia

गृहपृष्ठ ‘भारत र चीन दुवै देशले नेपाललाई अनुदानमा रेल बनाईदिनुपर्छ’

‘भारत र चीन दुवै देशले नेपाललाई अनुदानमा रेल बनाईदिनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं जोड्ने रेल चीन र भारत दुवै देशले अनुदानमा बनाईदिनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री महतले यस्तो बताएका हुन् ।
महतले भने,‘नेपालको लगानी गर्ने क्षमता छैन । दुवै देशले रेल अनुदानमा बनाईदिनुपर्छ ।’ नेता महतले भारत नेपालको सबै हिसाबले ज्यादा सम्भावना भएको देश भएको बताए । उनले भने,‘आगामी दिनमा आपसी विश्वासका आधारमा हामीबीच अझ सम्बन्ध धेरै विकसित होस् । एक–अर्काको चासो र चिन्तालाई दुवै देशका नेतृत्वले सिधै राख्नुपर्छ ।’
महतले द्धिपक्षीय सम्बन्धका कुराहरुलाई सडकमा उछाल्न नहुने समेत स्पष्ट पारे । उनले भने,‘सत्तामा जान भ¥याङको रुपमा सम्बन्धलाई प्रयोग गर्नुहुँदैन् । जे कुराहरु छन्, ती सबै कुटनीतिक टेबुलमा तर्कसहित राख्नुपर्छ ।’ सडकमा र जनतातिर फर्केर आफ्ना कुरा राख्न नहुने उनको तर्क छ ।
महतले भने,‘हाम्रो पार्टी सरकारमा हुँदा समस्याहरु ठाउँमा राखेको थियो । हामीले सडकमा उछाल्ने काम गरेनौं । भारतले नेपालमा धेरै सहयोग गरिरहेको छ । अहिले हुलाकी राजमार्ग निर्माणधिन छ । भारतले अनुदानमा बनाएको उक्त परियोजना छिटो सम्पन्न होस् । हामीलाई आँफै ठेक्काको जिम्मेवारी समेत भारतले दिएको छ।’
भुकम्पपछिको पूर्ननिर्माणको लागि भारतले ठूलो सहयोग राशी दिएको उल्लेख गर्दै उनले हरेकपटक पूर्ननिर्माणको सिईओ फेर्दा काम हुन नसकेको गुनासो पोखे । डुबानको समस्या समाधानको कुरा आफू परराष्ट्रमन्त्री हुँदा भारतीय पक्षसँग राखेको उनको दाबी छ ।
नेपाल–भारत सम्बन्धका धेरै आयामहरु रहेको सुनाउँदै उनले भने,‘द्धिपक्षीय सम्बन्ध घनिष्ठ छ । भारतसँग नेपालको बहुपक्षीय र बहु–आयामिक सम्बन्ध छ । घनिष्ठ सम्बन्ध भएकोले केही समस्याहरु पनि भैहाल्छन् । सम्बन्ध नै नभएको ठाउँमा पो समस्या हुँदैन, सम्बन्ध प्रगाढ भएकोले समस्या हुनु स्वभाविक हो ।’ नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।
नेपाल–भारतलाई हिन्दु र बुद्धिष्ट सर्किटमार्फत जोड्न सकिने उनको जोड छ । महतले भने,‘पर्यटन–धार्मिक रुपमा एक अर्को देशलाई जोड्न सकिन्छ । अब हिन्दू र बुद्धिष्ट सर्किटमार्फत जोड्ने काम हुन्छ ।’ नेपालको पर्यटन क्षेत्रको विकासको लागि फाष्ट ट्रयाक जरुरी रहेको उनको भनाई छ । उनले भने,‘भारत सहयोग गर्न ईच्छुक छ ।’
व्यापार घाटा कम गर्नको लागि नेपालले पर्यटनको अलावा जलस्रोतको पनि विकास गर्नुपर्ने महतको भनाई छ । उनले भने,‘यसको लागि भारतसँग जलस्रोतसम्बन्धी छाता सम्झौता गर्नुपर्छ । यसमा सिँचाई, खानेपानी र विद्युत पनि पर्छ । केही प्रतिशत प्रतिफल पाउनेगरि सम्झौता गर्नुपर्छ ।’
महतले भने,‘भारतमा सफलतापूर्वक लोकतान्त्रिक पद्धती चलेको छ । यो दुनियाँको लागि कल्पना बाहिरको कुरा हो ।’ नेता महतले भारतले लोकतान्त्रिक सभ्यतालाई अझै घनिभूत बनाओस् भन्ने शुभकामना समेत दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु